काठमाडौं ।
वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढेपछि विभागले नियमनमा कडाइ गरेको हो ।
विभागले विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ’विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ । विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर र प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
यस सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैर–कानुनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय सञ्चालन गरेको पाइएमा ’विद्युतीय व्यापार ऐन, २०८१’ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी समेत विभागले दिएको छ ।