काठमाडौं ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टारमा भीषण पहिरो खस्दा चमेलिया नदी थुनिएको छ ।

सोमवार दिउँसो करिव १ बजेतिर पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले नदी थुनिँदा झन्डै आधा घण्टासम्म कृत्रिम ताल बनेको थियो । नदीले अहिले आफैँ कटान गरेर बग्न थालेपछि जोखिम केही न्युन भएपनि पहिरो झर्ने क्रम नरोकिएकाले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराकाअनुसार पहिरोका कारण भट्टार बस्तीका १० देखि १५ घरपरिवारका करिव ३० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विस्थापित हुनेहरूमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । उनीहरूलाई नजिकैको बस्ती र आफन्तकोमा व्यवस्थापन गरिएको छ भने वडा कार्यालय र गाउँपालिकामार्फत टेन्ट तथा म्याट उपलब्ध गराइएको छ ।

नदी थुनिए लगत्तै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र छिमेकी स्थानीय तहहरूसँग समन्वय गरी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको थियो । विशेषगरी चमेलिया नदीमा सञ्चालित जलविद्युत आयोजनाका कर्मचारी र ‘ड्याम साइट’ मा कार्यरत टोलीलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ ।