काठमाडौं  सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधिसभाका विपक्षी राजनीतिक दलहरू थप सशक्त बन्ने भएका छन्।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा यहि जेठ १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा आइतबार भएको छलफल उक्त निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभएको छ । कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई गरेको उपेक्षा र विपक्षीको विरोध लगायत विषयमा छलफल भएको नेकपाका युवराज दुलालले जानकारी दिनुभएको छ । एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताउनुभयो ।

संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको प्रमुख सचेतक महरको भनाइ छ । प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन्।