काठमाडौं
देशभरका बालबालिकालाई आजदेखि भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
आजदेखि सोमबारसम्म ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र २० लाखलाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

चिकित्सकहरुका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने मद्धत गर्नेछ । भिटामिन ए कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लामा औषधि खुवाउन थालिएको थियो । यसलाई २०५९ सालदेखि देशभर नै लागू गरिएको हो ।