काठमाडौं ।
हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुखशान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् ।
यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । देशका विभिन्न स्थानमा आएको बाढी तथा विपद्बाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ ।