काठमाडौ ।

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । 

राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याएका कोइरालाको १९७१ साल भदौ २४ गते जन्म भएको थियो । तत्कालिन राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालासहित परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न २ हजार ३ सालमा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको लक्ष्यसहित भएको आन्दोलन २ हजार ७ मा सफल भएको थियो ।

यो सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । त्यस्तै २०१५ सालको आमचुनावमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियोे ।

२०१७ साल पुस १ मा तत्कालिन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । पछि नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजल बन्दीगृहमा सारियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले त्यसबेला अपनाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । क्यान्सर रोगबाट पीडित बिपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।