काठमाडौं ।

नपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ । 

वीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनु भयो ।

उहाँले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सहि दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरु परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत बताउनुभयो । उहाँले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएपनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वीपी कोईरालाले प्रतिपादन गर्नूभएको राष्ट्रिय मेलमिलापको नीति संवाद, सहिष्णुता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै काँग्रेसले त्यही कुरालाई आत्मसाथ गर्नुको विकल्प नरहेको बताउनु भयो । डा. कोईरालाले वीपी कोईरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्य–मान्यता, लोकतान्त्रिक संस्थाको संरक्षण तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।