काठमाडौं ।
एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरुले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन् ।
एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिवार चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाँले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पु¥याउने निर्णय गरेको बताउनु भयो ।
मन्त्रालयले उक्त विषयमा अध्ययन समिति नै गठन गरी निर्णय गरेको भएपनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म निर्णय कार्यान्वयन हुन नसकेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट निर्णय भएर आएको कुरा कार्यान्वयन नभएपछि आन्दोलन बाध्यता बनेको बताउनु भयो । सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जायज माग पूरा भए आन्दोलन अन्त्य गरी अस्पताल फर्केर बिरामीको सेवा गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ । अधिकार स्थापित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने उहाँले बताउनु भयो । उहाँले नेपाल मेडिकल एशोसिएशनको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मेडिकल विद्यार्थी तथा इन्टर्न चिकित्सकहरूको मागका विषयमा संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको आरोप लगाउनु भयो । एसोसिएसनले निजी मेडिकल कलेजको भन्दा पनि चिकित्सक र मेडिकल विद्यार्थीको हितलाई प्राथमिकता राख्नुपर्ने उहाँको भनाई छ ।
प्रदर्शनमा सहभागीहरुले हाम्रो धैर्यको परीक्षा धेरै भयो, प्रतिवेदन कार्यान्वयन गर, ईन्र्टन माथीको विभेद अन्त्य गर, हाम्रो माग स्पष्ट छ – निर्णय र कार्यन्वयन लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए । उनीहरुले सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायले इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगरेमा माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।