काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं रास्वपा बागमती प्रदेश सभापतिका उम्मेदवार डा. अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताउनुभएको छ ।
पार्टीको बागमति प्रदेशको अधिवेशनको क्रममा शनिबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताउनुभयो । ‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई निक्रिय बनाउने उहाँको भनाई छ। सोही व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुनसक्ने उहाँको तर्क छ । उहाँले पार्टीका महामन्त्री सांसद र मुख्य सचेतकसमेत रहेको उल्लेख गर्नुभयो ।
रास्वपामा सांसदहरुलाई प्रदेश सभापति हुन रोक्न खोजेपछि सांसद लामिछानेले असन्तुष्टी जनाउनुभएको हो । एक व्यक्ति, एक पदको अवधारणा लागू गर्ने विषयमा विवाद हुँदा यसअघि रास्वपा वागमती प्रदेश अधिवेशन रोकिएको थियो ।