काठमाडौं
श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो माग गर्नुभएको हो । उहाँले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने उहाँको तर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनुभयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दावी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
अध्यक्ष राईले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गर्ने तथा र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गर्नुभएको छ।