काठमाडौं

पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गर्नुभएकोे छ ।

सांसद बरालले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गर्नुभयो ।