काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताउनुभएको छ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आईतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले एमालेको एकता र सुदृढीकरणमा जोड दिनुभएको हो । अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त परिणामलाई एक ‘धक्का’ का रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूहरु धक्काबाट उठेर प्रतिक्रियावादीहरुलाई पराजित गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले विध्वंशको बाटोबाट नभइ रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरु अघि बढ्ने बताउनु भयो ।
पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै उहाँले एमाले विध्वंशको बाटोमा नभई रचनात्मक र शान्तिपूर्ण ढंगले अग्रगामी परिवर्तनतर्फ केन्द्रित हुने बताउनु भयो । पश्चगामी र प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै एमालेको विजय सुनिश्चित रहेको उहाँको दाबी थियो ।