काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 


प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक महरले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गर्नुभयो । 


उहाँले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताउनुभएको छ । प्रधानमन्त्री बालेन्द्र साहको सामाजिक सञ्जाल (फेसबुक) को कभर फोटोमा महिला फुटबल टोलीको सामूहिक तस्बिर रहेको बताउँदै उहाँले उक्त सम्मानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 


प्रमुख सचेतक महरले फुटबल प्रतियोगिताको टेलिभिजन प्रशारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलसँग सम्बन्धित खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उहाँले ‘लुट’ को संज्ञा दिनुभएको छ ।