काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी रहेको छोटो समयलाई तिब्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ (जीडीआई)’ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी विकासका चुनौती सामना गर्न सामुहिक र व्यावहारिक सहकार्य आवश्यक रहेको बताउनु भयो ।

न्युयोर्कमा आयोजित जीडीआईको पाँचौँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री खनालले विकासशील मुलुकहरूले सामना गरिरहेको वित्तीय सङ्कट, जलवायु परिवर्तनको प्रभाव, बढ्दो ऋणको दबाब र द्वन्द्वले विकासका लक्ष्यहरूलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो । उहाँले हालसम्म दिगो विकासका लक्ष्यहरूमध्ये ३६ प्रतिशत मात्र सही दिशामा अघि बढेको तथ्याङ्क प्रश्तुत गर्दै वार्षिक करिव ४ ट्रिलियन अमेरिकी डलरको वित्तीय अभाव पूरा गर्न जीडीआई जस्ता मञ्चको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

यसअघि गत भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीको सन्दर्भ उठाउँदै मन्त्री खनालले प्राकृतिक विपत्ति र जलवायु परिवर्तनको जोखिम कम गर्न उत्थानशील पूर्वाधारको निर्माण अपरिहार्य रहेको बताउनु भयो । सो अवसरमा उहाँले विपद्का समयमा चीन सरकार र चिनियाँ जनताले नेपाललाई प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।