प्रतिनिधिसभा निर्वाचनमा सर्वत्र हार व्यहोरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फेरि पार्टी एकताको योजना बनाउनुभएको छ ।
निर्वाचन अघिसम्म एक अर्काविरुद्ध सिद्धौरी खेल्दै आएका एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालले मतपरिणामपछि खङ्रङग् हुँदै फेरि एकताको तानाबाना बुन्न थाल्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहाल एकताको मनाशयसहित शिक्षण अस्पतालमा पत्थरीको अपरेशनपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ महाराजगंज पुग्नुभएको थियो । विगतमा गरिएको एकता टुटाएर राजनीतिमा एक आपसमा दुश्मनी मोल्नु भएका ओली र दाहालबीच अस्पतालमा स्वास्थ्य स्थितिदेखि मुलुकको राजनीति अवस्थासम्म संक्षिप्त कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीद्वय ओली र दाहालबीचको करिब ३० मिनेटको भेटवार्तामा राजनीतिबारे के के कुराकानी भए, त्यो दुवै पक्षले औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । तर एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा ओली र दाहालबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओली र दाहालबीच पछिल्लो यो भेटघाटसँगै मुलुकमा फेरि कम्युनिष्ट एकता हुन सक्ने चर्चा गर्न थालिएको छ । तर एमालेकै उच्च तहका नेताहरुले भने नेकपाका संयोजक दाहालसँग फेरि पार्टी एकताको गर्न नहुने भन्दै असन्तुष्टि जनाउन थालेका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले किन चलाइरहेको छ ? भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निर्वाचनमा भएको चिन्ताजनक पराजय र पार्टी पुनर्गठन अहिले आवश्कतत भएको समेत औल्याउनुभएको छ । अर्का नेता सुरेन्द्र पाण्डे पनि विचार बिनाको एकता घातक हुने भन्दै दाहाल पक्षसँग मिल्न नहुने धारणा व्यक्त गर्दे आउनुभएको छ । एमालेमा तेस्रो तहका केही नेताहरु भने एकता हुनुपर्ने पक्षमा उभिएका छन् ।