काठमाडौ  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण ८७ जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार दिएको जानकारी अनुसार यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध छैन ।

अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले एक अनलाइन पत्रकार सम्मेलनमा बताए अनुसार पूर्वी कङ्गोको इटुरी प्रान्तमा हालसम्म ३३६ जनामा संक्रमणको शंका वा पुष्टि भएको छ । सन् १९७६ यता कङ्गोमा इबोला देखिएको यो १७ औँ पटक हो । कासेयाकाअनुसार बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्र पहिचान गरिएको हो र यसको कुनै प्रमाणित खोप उपलब्ध छैन । कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले यस प्रजातिको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ । स्वास्थ्य मन्त्रीकाअनुसार यस प्रजातिका लक्षणहरू अन्य प्रजातिभन्दा केही फरक छन् ।

यसमा शुरुमा ज्वरो आउने र पछिल्लो चरणमा मात्र रक्तश्राव हुने लक्षण देखिन्छ । अधिकारीहरूले ज्वरो, बान्ता, थकान वा रक्तश्राव जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । यो संक्रमण खानी क्षेत्र र व्यावसायिक केन्द्रहरूमा फैलिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

विशेष गरी मोङ्गवालु खानी क्षेत्रमा मानिसहरूको आवतजावत बढी हुने भएकाले छिमेकी प्रान्तहरू र सीमावर्ती मुलुकहरू युगाण्डा र दक्षिण सुडानमा समेत जोखिम बढेको छ । युगान्डामा कङ्गोबाट आएका एक ५९ वर्षीय पुरुषको बुन्डिबुग्यो प्रजातिकै कारण मृत्यु भइसकेको पुष्टि भएको छ ।