काठमाडौं ।

हुलाकी राजमार्गअन्तर्गतको कन्काइ पुल १४ वर्ष अलपत्र पार्ने पप्पु–महादेव खिम्ती निर्माण कम्पनी सरकारी कारबाहीमा परेको छ । 

झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल अलपत्र पार्ने पप्पु–महादेव खिम्ती निर्माण कम्पनीलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार सात सय ७५ रुपैयाँ जरिवाना गर्न लागिएको छ । पुल अलपत्र पार्ने पप्पु–महादेवलाई जरिवाना रकम ३५ दिनभित्र दाखिला गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय निर्देशन दिएको छ ।

तोकिएको समयभित्र राजश्व खातामा दाखिला नगरे निर्माण कम्पनीको जायजेथा रोक्का गरी असुल गरिने भएको छ । राजमार्ग निर्देशनालयले निर्माण व्यवसायीको चल–अचल सम्पती (जायजेथा) बाट सरकारी बाँकी सरह असुलउपर गरिने प्रस्ट पारेको छ । पप्पु–महादेव खिम्ती कम्पनी २०७२ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएको कन्काइ पुल अहिलेसम्म निर्माण पूरा नगरेर अलपल पारेको हो ।

पुल निर्माण अलपत्र परेपछि झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका हजारौं स्थानीय बासिन्दाले डेढ दशकदेखि चरम सास्ती भोगिरहेका छन् ।