काठमाडौं ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र डबल लेन बनाइने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको हो । मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।
हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने बताउनु भयो । पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जाने उहाँको भनाइ थियो ।
उहाँले मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पु¥याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । सडक दुर्घटना न्युनिकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताउनु भयो ।