काठमाडौं ।

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । 

बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेका हुन् ।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।

राजिनामा दिएसँगै नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने भएको छ । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । केही समय अघि कांग्रेस र एमाले वीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो । बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । प्रदेश सरकारहरुले बजेट ल्याइसकेको हुँदा मुख्यमन्त्रीहरु परिवर्तनको चर्चा सुरु भएको छ ।

अन्य प्रदेश सरकार परिवर्तन गर्न छलफल हुँदा कर्णालीको पनि टुंगिने उपसभापति शर्माले जानकारी गराए । हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो ।