काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनुभएको छ ।
आईतवार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनु भयो ।
सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गर्नुभयो ।