काठमाडौं ।

नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोईरालाले पार्टीको आसन्न १५ औं महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताउनुभएको छ । 

शनिवार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

कोईरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनु भयो । नेता कोईरालाले महाधिवेशन कुनै चानचुने प्रक्रिया नभई समग्र पार्टी र देशको भविष्य निर्माण गर्ने मार्गदर्शक चरण भएको उल्लेख गर्नुभयो । कोईरालाले काँग्रेस लामो इतिहास बोकेको अनुभवी पार्टी भएको स्मरण गराउनु भयो ।

उहाँले पार्टीको समृद्ध इतिहास र वैचारिक जगले नै आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । डा. कोईरालाले महाधिवेशनलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको सामूहिक सहभागिता र सहयोग अपरिहार्य रहेको बताउनु भयो । पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई थाँती राखेर सबै पक्ष सँगसँगै अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै उहाँले यस महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढीकरणको परीक्षाका रूपमा लिन आग्रह गर्नुभयो ।