काठमाडौं ।
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताउनुभएको हो ।
नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाउनु भयो । उक्त समस्या विगत एक महिनादेखि देखिएको भएपनि जिल्ला प्रशासन, प्रहरी र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा दुर्घटना भएको उहाँको भनाइ छ ।
झन्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भएपनि सरकारले गोली चलाउनु विडम्बनापूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकमा धार्मिक सहिष्णुता कायम रहनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान समस्याको तत्काल समाधान खोजिनुपर्ने बताउनु भयो ।
अहिलेको परिस्थितिमा कुनैपनि विषयलाई राजनीतिकरण नगरी सबै नागरिक एकजुट भएर देश जोगाउन लाग्नुपर्ने उहाँको भनाइ छ ।नेता कर्णले विगतका गल्तीहरूबाट पाठ सिक्दै नेपाली काँग्रेस अब सुध्रिनु र बदलिनु पर्ने बताउनु भयो ।