काठमाडौं ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गर्नुभएको छ । 

शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो । उहाँले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताउनु भयो । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उहाँको भनाई छ ।

उहाँले पार्टीभित्र आफू प्रो कोईराला रहेको बताउनु भयो । उहाँले आफू वीपी कोईरालाको अनुयायी र गिरिजाप्रसाद कोईरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उहाँको भनाइ थियो । 

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उहाँले बताउनुभ यो । सभापतिमा उम्मेद्वारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उहाँको भनाई छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उहाँले बताउनु भयो ।