काठमाडौं ।
नेपाली कांग्रेससँगको गठबन्धनमा खटपट आएपछि नेकपा एमाले बागमती प्रदेशमा सरकारबाट बाहिरिएको छ ।
बागमती प्रदेश सरकारमा रहनुभएका एमालेका ६ मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष शनिबार सामूहिक रुपमा राजीनामा दिनुभएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा।दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले पदबाट राजीनामा दिनुभएको हो ।
संघमा विपक्षी दलको भूमिका एउटै कित्तामा रहे पनि प्रदेशमा भने नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किएको छ । दुई वर्षअघि दुई दलबीच भएको ७ बुँदे सहमतिको पालना हुन नसक्दा प्रदेशको गठबन्धन भत्किएको हो । कांग्रेसले एमालेबाट पूर्वसहमति पालना हुन नसकेको निष्कर्ष निकाल्दै गठबन्धन तोड्न प्रदेश कमिटीलाई अनौपचारिक निर्देशन दिएको छ ।
पार्टीको निर्देशनपछि कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले बुधबार नै पद छाडेका छन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरुको राजीनामा स्वीकृति गरे लगत्तै त्यस तरंग सुदूरपश्चिममा समेत तत्कालै पर्यो । सुदूरपश्चिम प्रदेशमा एमालेका चार मन्त्री बर्खास्तमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारितमा सहयोग नगरेको भन्दै एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउनुभएको हो ।
कर्णाली र सुदूरपश्चिमपछि बागमतीमा पनि गठबन्धनमा पहिरो गएको हो । कोशी र गण्डकी प्रदेशमा पनि कांग्रेस र एमालेको गठबन्धनमा खटपट भइरहेको छ । यद्यपि यी दुई प्रदेशमा भने सरकार भत्किइसकेको छैन ।