काठमाडौं ।

नेपाली कांग्रेसको राष्ट्रिय भेलामा विधान संशोधनसहित राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । 

काठमाडौंको सुकेधारामा.भइरहेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय भेलाको दोस्रो दिन शनिबार पूर्वमन्त्री रमेश लेखकले विधान संशोधनका लागि ४३ बुँदे अवधारणापत्र प्रस्तुत गर्नुभएको छ । पूर्वमन्त्री लेखकको अवधारणापत्रमा सामान्यतया एक व्यक्ति एक पदमा मात्र रहने सक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । नेता लेखकले पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समय सापेक्ष परिमार्जन गर्न प्रस्ताव गर्नुभएको छ । भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

नेता निधिको प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र संघर्षका चरणमा योगदान दिएका नेता तथा कार्यकर्तालाई विधि र प्रक्रिया विपरीत अपमानित गर्ने काम भइरहेको उल्लेख गरिएको छ। भेलाको बन्द सत्रमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र नेता एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदन तथा प्रस्ताव गहन छलफलपछि आइतबार आवश्यक निर्णयसहित पारित गरिने भएको छ ।