काठमाडौं ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन सोमबार हुने भएको छ ।महाधिवेशनमा सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य (सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ ।
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरणपछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । महाधिवेशनमा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।