काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यतिखेर जोडदारका साथ महाधिवेशनको तयारीमा जुटिरहेको छ ।
कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसको लागि तयारी तीव्र रुपमा भइरहेको कांग्रेसले जनाएको छ । महाधिवेशनको लागि कांग्रेसले वडा, गाउँ तथा नगर अधिवेशन यसअघि नै पूरा गरिसकेको छ । महाधिवेशन कार्यतालिका अनुसार शनिवार मुलुकको अधिकांश ठाउँमा संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भएको छ ।
वर्षाको कारण पूर्वनिधारित तालिका अनुसार हुन नसकेको क्षेत्रका अधिवेशन असोज १३ गते सकिने कांग्रेसले जनाएको छ । वडा, गाउँ तथा नगर र क्षेत्रीय अधिवेशनपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरु महाधिवेशनतर्फ केन्द्रित हुन थालेका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले संसदमा रहेका विभिन्न दलका नेताहरुलाई समेत अतिथी बनाउने भएको छ । त्यसको लागि कांग्रेसले पूर्वमन्त्रीद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डको साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निमन्त्रणा दिएको छ । नेकपा एमालेका अध्यक्ष ओली तथा नेकपाका संयोजक दाहाल र रास्वपाका सभापति लामिछानेलाई कांग्रेस नेता उदयशमशेर राणाले छुट्टाछुट्टै भेट गरी निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो । असोज १६ काठमाडौं टुंडिखेलमा हुने उट्घाटन समारोहमा सहभागिताका लागि राजनीतिक दलका प्रतिनिधि, पार्टीका कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई आमन्त्रण गरिएको छ ।