काठमाडौं ।
नेपाली काँग्रेसले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्दै साउन महिनाभित्र राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरेको छ । रोल...
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको हो । आईतवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिनुभएको हो । नेता विश्वकर्माकाअनुसार पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भएपनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन ।
पार्टी नेतृत्व (सानेपा कार्यालय) मा अधिकार केन्द्रित रहेको र त्यहाँबाट समस्या समाधानका लागि पर्याप्त धैर्यता, सहनशीलता र तत्परता प्रदर्शन नगरिएको आरोप इतर पक्षले लगाएको छ । संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढङ्गले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजिएको उहाँले प्रष्ट पार्नुभयो ।
इतर पक्षले आगामी साउन ६ गते पर्ने वीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डाहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ ।