काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अन्ततः विभाजनतर्फ उन्मुख भएको छ । सभापति गगनकुमार थापाको नेतृत्व अस्वीकार गर्दै आएको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला आयोजना गर्दै त्यसको तयारीमा जुटेपछि काग्रेस विभाजनको बाटोतिर लागेको हो । संस्थापन पक्षलाई टक्कर दिँदै समानन्तर गतिविधि गर्दै आएको देउवा समूहले यही साउन २९ देखि ३१ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ ।
त्यसको लागि देउवा पक्षले कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । देउपा पक्षले राष्ट्रिय भेला सफल पार्न विभिन्न समिति तथा उपसमिति बनाएको छ । राष्ट्रिय भेलाको लागि तय गरिएका समिति तथा उपसमिति देउवा पक्षले शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । एकताको प्रयास गर्दा संस्थापन पक्षको नेतृत्वले चासो नदेखाएपछि भेला राख्न बाध्य भएको देउवा समूहको भनाई छ ।
देउवा पक्षले राष्ट्रिय भेला सफल पार्न व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन र मञ्च व्यवस्थापन समिति समेत बनाएको छ । स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको देउवा पक्षले जनाएको छ ।
मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गरिएको देउवा पक्षको दाबी छ ।