काठमाडौ ।

निरन्तरको वर्षाका कारण काठमाडौ उपत्यका जोड्ने मुख्य सडक अझै सञ्चालनमा सकस्, पाँच दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती ।

बाढीपहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुले सास्ती पाएका छन् ।

संघीय राजधानी काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पाँच दिनदेखि गाडी चल्न सकेका छैनन् । देशका अरु सडकखण्ड पनि अवरुद्ध छन् । अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो हटाउने प्रयास भैरहेको छ । तर धेरै ठाउँमा ठूलो पहिरो खसेकोले खुलाउन समय लागेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर, मलेखु नजिकैको परेवाभिर र गजुरी नजिकैको चालिसेमा अहिले पनि पहिरो पन्छाउने काम भैरहेको छ । धादिङबेसी चल्ने वैकल्पिक सडकमा हिजोदेखि गाडी चले पनि पृथ्वी राजमार्गमा गाडी सञ्चालन भैनसकेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भोलिसम्म सवारी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम भैरहेको छ । काठमाण्डौ जोड्ने अर्को मुख्य सडक बीपी राजमार्गमा पनि गाडी सञ्चालन भैसकेको छैन । पहिरो पन्छाउने काम भैरहे पनि सडक कहिलेदेखि खुल्छ भन्ने यकिन भैनसकेको काभ्रे प्रहरीले जनाएको छ ।नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै पोखरातर्फ चल्ने गाडी भने चलिरहेका छन् । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ र भीमफेदी–फाखेल सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक विभागले अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भैरहेको दावी गरे पनि मुख्य सडक ५ दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरुलाई निकै सास्ती भएको छ । अबको तीन दिनमा सबैजसो सडक सञ्चालनमा आउने गरी काम भैरहेको सडक विभागले जनाएको छ ।