काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्नसके जलवायु परिवर्तनको प्रभाव न्युनिकरणसँगै पानीका मुहान संरक्षण, भूक्षयीकरण नियन्त्रण र बेरोजगारीको समस्या समाधानमा समेत योगदान पुग्ने बताउनुभएको छ ।
मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्दै व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै टड्कारो र जटिल समस्याका रूपमा देखिएको उल्लेख गर्नुभयो ।
यसबाट नेपालले ठूलो पीडा भोगिरहेको उहाँले बताउनु भयो । जलवायु परिवर्तनमा नेपालको योगदान र अन्तर्राष्ट्रिय कारणबाट नेपालले भोग्नुपरेको असरबारे बहस भइरहे पनि आफ्नै तहबाट खर्क तथा चरन क्षेत्रको व्यवस्थापन गर्न सकिने अध्यक्ष दाहालले बताउनु भयो । अध्यक्ष दाहालकाअनुसार खर्क क्षेत्र व्यवस्थित गर्नसके पानीका मुहान संरक्षण गर्न र भूक्षयीकरणबाट जमिन जोगाउन सकिन्छ । यसले वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पु¥याउन सक्छ ।
नेपालमा बेरोजगारीको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जनाका नयाँ अवसर खोज्ने क्रममा भइरहेका सम्भावनालाई संरक्षण र प्रवद्र्धन गर्न पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले खर्क तथा चरन क्षेत्रलाई केवल परम्परागत पशुपालनको क्षेत्रका रूपमा नहेरी जलवायु अनुकूलन, प्राकृतिक स्रोत संरक्षण र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।