काठमाडौं ।

गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाको नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ ।

साथै उहाँले त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग समेत गर्नुभएको छ । भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताउनु भयो ।

उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताउनु भयो । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाउनु भयो ।उहाँले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गर्नुभयो । र्

 उहाँकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उहाँले बताउनु भयो । दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।