काठमाडौं ।
दशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किने यात्रुहरुको चाप बढ्यो, नयाँबसपार्कबाट मात्र एकसातामा २ लाख ७ हजार बढी बाहिरिएको तथ्याँक ।
बडादशैँ शुरु भएसँगै काठमाण्डौको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
काठमाण्डौमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरु गाउँ फर्किने क्रम बढेको हो । यही असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजारभन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो । दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो । यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर गाडी आवागमन अवरुद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।