काठमाडौं नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको हो ।
उहाँले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उहाँले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिनुभयो ।
उहाँले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गर्नुभयो । उहाँले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताउनु भयो ।
उहाँले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने बताउनु भयो ।