काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन–जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । 

आइतबार जेन–जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन–जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा संचारकर्मीसंग बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागी आफ्नो ज्यान आहुति दिने जेन–जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताउनुभयो ।

मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताउनुभएको हो ।

मन्त्री गुरुङले पार्क निर्माणले मात्र सहिद जेन–जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरू गर्न बाँकी रहेको बताउनुभयो । यस अघिको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी शहीदहरूको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।