काठमाडौं   नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोत सम्बन्धी उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल शुरू गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गर्नुभएको हो। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धी सार्वजनिक प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको बताउनुभयो । पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ हुने उहाँको भनाइ छ ।

कांग्रेसले गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंकालाई स्वाभाविक मानेको जनाउको हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने कांग्रेसको जोड छ । कांग्रेसले नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने आफ्नो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख रहेको स्पष्ट गरेको छ।

पार्टीले सधैँ पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिँदै आएको र भविष्यमा पनि उभिरहने समेत प्रवक्ता चालिसेले दावी गर्नुभयो ।