काठमाडौं ।

चाडपर्वको बेला यात्रु ठगी रोक्न सहायता कक्ष र क्यू–फ्री प्रणाली प्रभावकारी रुपमा संचालन गरिने भएको छ । 

नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्न लागेको हो । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाऊन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने बताउनुभएको छ ।

टिकट बुकिङलाई व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिने प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभएको छ । 

दशैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलङ्की–नागढुङ्गा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ ।