काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन तयारी पूरा भएको छ । 


रास्वपाको महाधिवेशन प्रथम महाधिवेशन चितवनको भरतपुरमा भोलिदेखि शुरु हुँदैछ । महाधिवेशनको लागि अधिकांश नेता चितवन पुगिसकेका छन् । पर्यवेक्षक, प्रतिनिधि र कार्यकर्ताहरु भने आइतबारसम्म महाधिवेशन स्थल पुग्नेछन् । असार ९ गतेसम्म चल्ने महाधिवेशनमा चार हजार दुई सय १० प्रतिनिधि हुने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ । 


केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले विधान अनुसार मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश गर्नुहुनेछ । त्यसपछि साँझसम्म महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरिने भएको छ । रास्वपा महाधिवेशनमा बागमती प्रदेशबाट सबै भन्दा धेरै सात सय ९० प्रतिनिधि सहभागी हुने भएका छन् । कोशी प्रदेशबाट पाँच सय २० र मधेशबाट ६ सय ३० प्रतिनिधि सहभागी हुने रास्वपा सचिवालयले जनाएको छ । रास्वपा सचिवालयका अनुसार लुम्बिनी प्रदेशबाट चार ९० र गण्डकीबाट चार सय ७० प्रतिनिधि सहभागी हुँदैछन् । 


 महाधिवेशनमा कर्णालीबाट तीन सय ६० र सुदूरपश्चिमबाट पाँच सय ५० प्रतिनिधि सहभागी हुनेभएका छन् । नेपालको राजनीतिमा नयाँ उदयमान शक्ति रास्वपाको महाधिवेशनलाई निकै चासोको साथ हेरिएको छ ।