काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताउनुभएको छ ।

झापामा आयोजित नेकपा एमाले मिसन पार्टी जागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको बताउनु भयो । मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयो ।

गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिँदै अध्यक्ष ओलीले हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । चुनावमा नराम्रोसँग हार व्यहोरेका तर हारपछि मैदान छोडेर भाग्ने एमालेको प्रवृत्ति नभएको बताउनु भयो । एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने र जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै विजयी हुने उहाँको भनाइ छ ।

एमाले कुनैपनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै उहाँले पार्टी भगौडा नभई परिस्थितिसँग जुधेर अगाडि बढ्ने शक्ति भएको उल्लेख गर्नुभयो ।