काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताउनुभएको छ । 

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री आचार्यले विगत एक शताब्दीमा चिनियाँ कम्युनिष्ट 

पार्टी (सीपीसी) ले देशलाई संकटबाट समृद्धितर्फ डो¥याउन खेलेको भुमिका विश्वकै लागि उदाहरणीय रहेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक सीमानामा मात्र सिमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक र भावनात्मक रूपमा जोडिएको उहाँले उल्लेख गर्नुभयो । दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको चर्चा गर्दै उहाँले आगामी दिनमा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘एउटा सक्षम र समर्पित राजनीतिक दलले कसरी देशलाई प्रतिकूलताबाट समृद्धितर्फ लैजान सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ । नयाँ दलका रूपमा रास्वपाले सीपीसीको यो सफल यात्राबाट धेरै कुरा सिक्न सक्छ । हाम्रा विचारधारा फरक होलान्, तर जनताको सेवा गर्दा नै राजनीतिक दल र अन्ततः देशको प्रगति हुन्छ भन्ने साझा मान्यतामा हामी एक छौँ । छिमेकी समृद्ध हुँदा त्यसको प्रत्यक्ष–परोक्ष लाभ हामीलाई पनि हुन्छ । समृद्ध छिमेकीबाट हामीले प्रविधि, पूर्वाधार विकास र जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।’


सीपीसी र रास्वपाको राजनीतिक विचारधारा र शासन पद्धतिमा भिन्नता भएपनि दुवैको मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै रहेको उहाँले प्रस्ट पार्नुभयो । नेपाल हाल विकासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले छिमेकी राष्ट्रको प्रगतिबाट अधिकतम लाभ लिँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।