काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जथाभावी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उहाँले जथाभावी रुट परमिट दिँदा सवारी दुर्घटना बढेको बताउनुभएको हो । सडकको अवस्था, भौगोलिक जोखिम र सवारीको प्रकृति नहेरी अनुमति दिने गरिएको उहाँको भनाई छ । मनाङ–मुस्ताङजस्ता कठिन भूगोलमा पनि सडकको क्षमता र सवारीको उपयुक्तता नहेरी लामो तथा ठूला बसलाई रुट परमिट दिने गरिएको उहाँले बताउनु भयो । सार्वजनिक, निजी तथा दुईपाङ्ग्रे सवारी एउटै सडक र रुटमा सञ्चालन हुनुपर्ने अवस्थाले ट्राफिक जामको समस्या विकराल बन्दै गएको उहाँको भनाई छ । नागढुंगा–चितवन तथा फर्पिङ हुँदै जाने मुख्य मार्गहरूमा ढुवानीका साधन, सार्वजनिक बस र निजी सवारी एकैसाथ सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँले जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापनमा संरचनागत सुधार गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा सार्वजनिक यातायात सेवा मुख्यतः निजी क्षेत्रले सञ्चालन गरिरहेको उहाँको भनाई छ । भाटभटेनीलगायत केही संस्थाले निजी दर्ताका सवारीमार्फत सामान ढुवानी गरेपनि अधिकांश क्षेत्रमा सार्वजनिक ढुवानी सेवामै निर्भरता रहेको उहाँले जानकारी दिनुभयो । उहाँले ढुवानी गर्दा सामाग्री जथाभावी सडकमा राख्ने प्रवृति बढेको बताउनुभयो । साथै ट्राफिक उल्लङ्घन गर्नेलाई कारबाही रकम बढाउनुपर्ने उहाँको भनाई छ । कम्तीमा ५ हजारदेखी ५० हजार रुपैयाँ कायम गर्नुपर्ने उहाँको सुझाव छ ।
प्रमुख काफ्लेले काठमाडौं भित्रिने पश्चिमी नाकामा सडक पूर्वाधारमा क्षति पुगेकोतर्फ पनि समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँकाअनुसार काठमाडौं प्रवेश गर्ने लेन बाहिरिने लेनको तुलनामा बढी धसिएको छ । यसको मुख्य कारण नेपाल र भारतबीच मालवाहक सवारीले बोक्न पाउने भार क्षमताको मापदण्ड फरक हुनु रहेको उहाँको भनाई छ । भारतीय र नेपाली सवारीका लागि समान भार मापदण्ड लागू गर्नुपर्ने उहाँको सुझाव छ ।
बैठकमा उहाँले हाल नेपालभर ६२ लाख ४९ हजार ७ सय ३२ वटा सवारी साधन दर्ता भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख सवारी साधन दैनिक सञ्चालनमा रहेको उहाँको भनाई छ । हरेक दिन औसत २ हजार ५ सय भारतीय सवारी साधन नेपाल प्रवेश गर्ने गरेका छन् । तर ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्ति करिब २ हजार ५ सय मात्र रहेको उहाँले बताउनु भयो । उहाँले ट्राफिक लाईटलाई एआई जेनेरट गर्नुपर्नेमा जोड दिनुभयो ।