काठमाडौं ।
जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ । सरकारले एकातिर अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन ९ सदस्यीय समिति गठन गरी अभियान चलाइरहेको बेला, अर्कोतर्फ संस्थानले नै मोटो रकम लिएर जग्गा लिजमा उपलब्ध गराएको भन्दै विरोध शुरु भएको हो । गुठी संस्थानले हनुमाननगरमा रहेको कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा ‘विदेह ओशो ध्यान केन्द्र’ लाई २० वर्षका लागि लिजमा दिएको पाइएको छ ।
२०८२ जेठ ७ गतेदेखि लागू हुनेगरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने शर्तमा धार्मिक क्रियाकलापका लागि सो जग्गा केन्द्रलाई दिइएको हो । यसअघि उक्त जग्गा स्थानीय हनुमान मन्दिरले उपभोग गर्दै आएको थियो ।स्थानीय कलावती साहले वर्षौँदेखि आफूहरूले जोतभोग गर्दै आएको सहारा खोसिँदा ठूलो समस्या आइलागेको बताउनु भयो । अर्का स्थानीय प्रितम राउत कुर्मीले अतिक्रमित अवस्थामा रहेको जग्गालाई आफूहरूले नै संरक्षण गरी खेतीयोग्य बनाएको दाबी गर्नुभयो ।हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले संस्थानले मन्दिर र स्थानीय कसैलाई पनि जानकारी नदिई जग्गा लिजमा दिएर अन्याय गरेको आरोप लगाउनु भयो । उहाँकाअनुसार मन्दिरको जीर्ण अवस्था सुधार गर्न र दैनिक भोगरागादिका लागि स्थानीयबाट प्राप्त हुने कुत नै मुख्य स्रोत रहेको थियो
यता, विदेह ओशो ध्यान केन्द्रले भने आफूहरूले कानूनी प्रक्रिया पूरा गरेरै जग्गा लिजमा लिएको स्पष्ट पारेको छ । केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद गर्ने आफ्नो उद्देश्य नभएको र नियमसंगत ढंगले नै जग्गा प्राप्त गरेको दाबी गर्नुभयो ।