काठमाडौं
जेनजी आन्दोलनसँगै केही महिना अन्योलमा रहेको प्रतिनिधिसभा अब भने सुचारु भएको छ, सभाको पहिलो बैठकमै सरकारको आलोचना भएको छ ।
संघीय संसद अधिवेशन शुरु भएको दिन बिहीबार श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटीका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीलाई लिएर सरकारको आलोचना गरेका हुन् । बैठकमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ को घटनाको निष्पक्ष रुपमा छानबिन हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस सांसद आङ्देम्बेले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै सुशासनको लागि सरकारले सबै दलसँगको सहमति र सहकार्य गर्नुपर्ने बताउनुभयो । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादलले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रकरणलाई लिएर सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सदनमा आफूहरुले आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पूर्वमन्त्री पुनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले पनि जेनजी आन्दोलन प्रकरणमा थालिएको कारवाहीको विषयलाई लिएर सरकारको तीव्र आलोचना गर्नुभएको छ । अध्यक्ष राईले सदनमा सम्बोधन गर्दै भदौ २३ गतेको आन्दोलन आन्दोलन भड्काउने र २४ गते सिंहदरबार लगायतका ठाउँमा आगजनी गर्नेहरु दुर्व पक्षलाई कारबाही हुनुपर्ने बताउनुभयो । सांसद राईले सरकारलाई राष्टिय स्वाधिनताको सवालमा खुट्टा नकमाउन सुझाव समेत दिनुभएको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनउत्तरदायी बन्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकार जनताप्रति उत्तरदायि बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिनुभयो ।प्रतिनिधिसभामा सभामुख चयन नहुँदासम्मको लागि बैठको अध्यक्षता जेष्ठ सांसद अर्जुननरसिंह के.सीले गर्नुभएको छ । प्रतिनिधिसभाम अर्को बैठक आउने आइतबार बिहान ११ बजे बस्ने भएको छ ।