काठमाठौं ।

नेपालीको महान् पर्व बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्ना गृह स्थान फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

दर्शै मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।

दशैँ मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार तीन सय १४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । दशैँका लागि घर फर्किनेहरुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न हम्मे परेको छ । यातायात व्यवसायीका अनुसार हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दशैँका लागि अग्रिम टिकट लिएका छन् ।