काठमाडौं ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा यात्रु वाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौतर्फ आउँदै गरेक प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिवार बिहान दाउन्नेस्थित एस मोडमा सडकबाट नालामा पल्टिएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामाा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री र निर्जुङ खत्री तथा बाँके कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसीको जीवन गुमेको छ ।
दुर्घटनामा बाजुरा स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा नेपालगंज–७ का २२ वर्षीय कृष कनौजिया र नामथर वतन नखुलेको ४२ वर्षका पुरुषको पनि मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । बसका यात्रु २ जना भने सकुशल छन् । सडकको घुम्तीमा बसलाई चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।