काठमाडौं । 

प्रतिनिधिसभाका सांसदहरूले दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग गर्नुभएको छ । 

सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमितता सम्बन्धी छानविन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गर्नुभएको छ । नेकपा एमालेका राजेन्द्रकुमार राईले धनकुटामा ७ हजार किसानले दूधको भुक्तानी नपाएको गुनासो गर्नुभएको छ । रास्वपाकै बसुमाया तामाङले बजारमा पूरा ग्यास सिलिण्डर नपाउँदा उपभोक्ता ठगीमा परेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

रास्वपाकै विदुषी राणाले कर्णाली प्रदेशका दुर्गम स्थानलाई प्राथमिकता राखी सञ्चार सुविधा सहज बनाउन आग्रह गर्नुभएको छ ।

नेकपाका महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको उच्च जोखिम क्षेत्रलाई ध्यानमा दिएर दुर्घटना न्यूनीकरणका लागि लाग्न सुझाव दिनुभएको छ । नेकपाकै बलावती शर्माले बाँदर लगायत वन्यजन्तुले घरभित्रै पसेर खाद्यान्न खाइदिने र किसानको उब्जनीमा पारेको असरबारे गम्भीर हुन आग्रह गर्नुभएको छ ।

सोमबरको बैठकमा रास्वपाका सांसदहरु विना गुरुङबुद्धरत्न महर्जन, रञ्जु न्यौपाने , भरतप्रसाद पराजुली, माधवबहादुर थापा, रमेश प्रसाईं, मोहनलाल आचार्य, डा फिरदोश आलम, रीना उप्रेती (केसी), रुक्मिणीदेवी कोइराला, रुविना आचार्य, रेनुका काउँचा, भूमिका श्रेष्ठ, मनिष खनाल, राजन गौतम र नेपाली कांग्रेसका भरतबहादुर खड्का तथा एमालेका रिँगला यादवले लगायले समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभएको छ ।