काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताउनुभएको छ ।
धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताउनु भयो । छलफलका क्रममा उहाँले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवालाहरूलाई आग्रह समेत गर्नुभयो ।
धनुषामा विगत केही समयदेखि आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले सरकार समक्ष १३ बुँदे मागपत्र प्रश्तुत गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा सुरक्षा निकायका प्रमुखहरू र आन्दोलनरत पक्षबीच दुई चरणमा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो ।
आन्दोलनकारीले मागपत्र दिएपछि प्रमुख जिल्ला अधिकारी लुइँटेलले शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धनका लागि ८१ प्रतिशत हिन्दु धर्मावलम्बीको बाहुल्यता भएको नेपाललाई ‘हिन्दु राष्ट्र’ कायम गर्ने विषयमा तीन महिनाभित्र स्पष्ट समय सीमा तोकी सर्वदलीय बैठक र छलफलको प्रक्रिया अगाडि बढाउने माग राखिएको बताउनु भयो ।
जुनसुकै धर्म वा सम्प्रदायका चाडपर्व र धार्मिक अवसरहरूमा हातहतियार प्रदर्शन गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र यस्तो कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने, मठ–मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलहरूमा जडान गरिएका बाहिरी ध्वनि विस्तारक उपकरण (लाउड स्पिकर) को प्रयोग नियन्त्रण गर्ने र ध्वनिलाई धार्मिक स्थलको परिसरभित्र मात्र सीमित राख्ने व्यवस्था मिलाउने, धार्मिक स्थलहरूमा बसोबास गर्ने व्यक्तिहरूको पहिचान र अभिलेखीकरण गर्ने तथा विदेशी नागरिक भए सम्बन्धित निकायले विशेष निगरानी र व्यवस्थापन गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक, साम्प्रदायिक र जातीय द्वेष फैलाउने वा चरित्र हत्या गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानूनअनुसार कारबाही गर्ने माग रहेका छन् ।