काठमाडौं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गर्नुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गर्नुभएको हो । उहाँले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्र्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताउनुभयो ।

 अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गर्नुभयो । उहाँले विदेशी ऋण लिएर विकास गर्ने भन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष राईले आफ्नो पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्नुभयो । पार्टी संगठनलाई देशभर विस्तार गर्ने र आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन समेत उहाँले आग्रह गर्नुभएको छ ।