काठमाडौं  सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित हुने परिवारका लागि सरकारले राहत तथा पुनस्र्थापना प्याकेजको घोषणा गरेको छ ।

सिहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो घोषणा गरेको हो । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै विवरण रुजु भएका विस्थापित परिवारलाई पुनस्र्थापना खर्च बापत एकमुष्ठ २५ हजार रुपैयाँ उपलब्ध गराइने बताउनुभयो ।

वैकल्पिक बसोवासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्ने उद्देश्यले ५ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार रुपैयाँका दरले हाललाई ३ महिनाका लागि बसोवास व्यवस्थापन खर्च प्रदान गरिने बताउनुभएको छ । विस्थापित परिवारका बालबालिकाको पठनपाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिने उहाँले बताउनुभयो ।


त्यस्तै, बैठकले नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६दशमलव ११६ मिलियन स्वीस फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यसैगरी, अरनिको राजमार्गको मर्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९ दशमलव ३६ मिलियन आरएमबी अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय भएको छ ।

प्रशासनिकतर्फ नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ बमोजिम राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ ।