काठमाडौं।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा सोमबारदेखि सवारी संचालन गरिने भएको छ ।
नेपालको पहिलो सुरुङमार्ग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले सोमबार संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भइरहेको छ । सुरुङमार्गमा त्यसपछि औपचारिक रुपमा यातायात गरिने सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभएको छ । उद्घाटन पश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । महानिर्देशक जैसीले सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ। सुरुङमार्गमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने निषेध गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँमा निर्माण गरिएको सुरुङमार्गको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ ।